राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता, २०८३
राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता, 2083
राष्ट्रिय किताबखाना 2083
राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता, 2083
प्रस्तावना : कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, गुणस्तरीय, सदाचारयुक्त, पारदर्शी, मर्यादित, उत्तरदायी, सेवाग्राहीमुखी र अनुशासित बनाउन आचारसंहिता सम्बन्धी व्यवस्था गर्न बाञ्छनीय भएकाले,
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, 2064 को दफा २३ को उपदफा (3) ले दिएको अधिकार प्रयोग गरी राष्ट्रिय किताबखानाले यो आचारसंहिता बनाएको छ ।
१.संक्षिप्त नाम र प्रारम्भ : (१) यस आचार संहिताको नाम "राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता, 2083" रहेको छ।
(२) यो आचारसंहिता सम्वत् 2083 साल कार्त्तिक महिना १९ गतेदेखि प्रारम्भ हुनेछ ।
२.परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आचारसंहितामा, -
- "आचारसंहिता" भन्नाले राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता, 2083 लाई सम्झनु पर्छ ।
- "आचरण" भन्नाले विभागमा कार्यरत कर्मचारीबाट पालना गर्नुपर्ने व्यवहारलाई सम्झनु पर्दछ।
- "कर्मचारी" भन्नाले विभागमा कार्यरत कर्मचारीलाई सम्झनु पर्दछ र सो शब्दले सेवा करारमा कार्यरत कर्मचारीलाई समेत जनाउँछ ।
- "विभाग"भन्नाले राष्ट्रिय किताबखानालाई सम्झनु पर्छ ।
- “महानिर्देशक” भन्नाले राष्ट्रिय किताबखानाको महानिर्देशकलाई सम्झनु पर्छ ।
- "सेवाग्राही" भन्नाले विभागको कामसँग सरोकार राख्ने निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र तथा गुप्तचर (राष्ट्रिय अनुसन्धान) र स्थायी विद्यालय शिक्षक सम्झनुपर्छ र सो शव्दले त्यस्ता कर्मचारीको परिवारलाई समेत जनाउँछ ।
3.मूल्य र मान्यताः (१) कर्मचारीले आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, दक्ष, अनुशासित र व्यावसायिक भई कार्यसम्पादन गर्नु पर्नेछ।
(२) कर्मचारीले सेवाग्राहीको आवश्यकता, सुविधा र अधिकारलाई सम्मान गर्दै सरल, सहज, छिटो, पारदर्शी र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेछ।
(३) कर्मचारीले कार्यसम्पादनमा उच्च नैतिक आचरण, इमानदारिता र सदाचारिता कायम राख्दै कार्यालयका अभिलेख, सूचना तथा विवरणको सुरक्षा र गोपनीयता कायम गर्नुपर्नेछ।
(४) जात, धर्म, लिङ्ग, भाषा, क्षेत्र वा अन्य कुनै आधारमा भेदभाव नगरी तटस्थ, निष्पक्ष र समान व्यवहार गर्नुपर्नेछ।
(५) परिवर्तित कार्यप्रणाली, सूचना तथा सञ्चार प्रविधि र नवीनतम अभ्यासलाई आत्मसात् गर्दै सेवा प्रवाहलाई प्रभावकारी, आधुनिक र प्रविधिमैत्री बनाउनु पर्नेछ।
४. पदीय आचरण र पेशागत व्यवसायिता: संविधान तथा प्रचलित कानूनको अधीनमा रही प्रत्येक कर्मचारीले देहाय बमोजिम पदीय र पेशागत आचरण पालन गर्नुपर्नेछ :-
- सार्वजनिक हितलाई सर्वोपरि राखी इमानदार, निष्पक्ष, जिम्मेवार व्यावसायिक, सदाचारिता र सद्चरित्रमा आधारित भई कार्य गर्ने,
- राय, सुझाव वा निर्णय गर्दा आधार, कारण र सम्बन्धित कानून उल्लेख गर्ने,
- आफ्नो जिम्मेवारीको कार्यको प्रगति यथासमयमा DRS (Daily Reporting System) प्रणाली मार्फत जानकारी गराउने तथा ढिलाइ भए कारणसहित माथिल्लो अधिकारीलाई जानकारी गराउने,
- निर्धारित पोशाक, परिचयपत्र, कार्यालय समय तथा बिदासम्बन्धी व्यवस्था पालना गर्ने,
- कार्यालय परिसरमा धूम्रपान/सूर्तिजन्य पदार्थ सेवन नगर्ने तथा मादक पदार्थ सेवन गरी कार्यालयमा प्रवेश नगर्ने,
- सेवाग्राहीसँग शिष्ट, सम्मानजनक, समान र सेवामुखी व्यवहार गर्ने,
- जात, धर्म, लिङ्ग, भाषा, विचार वा अन्य आधारमा भेदभाव नगर्ने,
- सेवाको प्रगति वा आवश्यक प्रक्रियाबारे सेवाग्राहीलाई यथार्थ जानकारी दिने,
- अनुचित दबाब, प्रभाव, लोभ, प्रलोभन वा पक्षपातबाट मुक्त रही कार्य गर्ने,
- व्यक्तिगत स्वार्थ वा अवाञ्छित सम्बन्धका कारण पदीय जिम्मेवारीमा असर पर्न नदिने,
- कानूनबमोजिम प्राप्त निर्देशन पालना गर्ने तर गैरकानूनी कार्य गर्न वा गराउन नहुने,
- कार्यालयको मर्यादा र प्रतिष्ठामा आँच आउने कुनै कार्य नगर्ने,
- कर्मचारीले सामाजिक सञ्जाल तथा सार्वजनिक सूचना संयन्त्रको प्रयोग गर्दा प्रचलित कानून, पदीय मर्यादा तथा सेवाको गरिमा कायम राखी जिम्मेवार, संयमित र मर्यादित रूपमा प्रयोग गर्नुपर्नेछ,
- कर्मचारीले कार्यालय समयभित्र दिउँसो १:३० बजेदेखि २:०० बजेसम्मको अवधिमा वा सेवाप्रवाहमा असर नपर्ने गरी कर्मचारीहरूले पालैपालो (रोटेशन) प्रणालीबाट खाजा/विश्राम समय लिनुपर्नेछ।
६. विद्युतीय सेवा प्रवाह एवम् अभिलेख व्यवस्थापन सम्बन्धी आचरण : विभागमा कार्यरत कर्मचारीले देहायका विद्युतीय सेवा प्रवाह एवम् अभिलेख व्यवस्थापन सम्बन्धी आचरण पालन गर्नुपर्नेछ :-
- कार्यालयको ईमेल, डिजिटल हस्ताक्षर, GIOMS प्रणाली तथा विद्युतीय हाजिरी लगायतका प्रणालीको प्रभावकारी प्रयोग गर्ने,
- प्राप्त कागजात तथा सूचनाको आवश्यकतानुसार डिजिटाइजेशन र सुरक्षित अभिलेखीकरण गर्ने,
- आफ्नो जिम्मेवारीका फाइल, अभिलेख र डिजिटल विवरण सुरक्षित तथा अद्यावधिक राख्ने,
- PIS तथा अन्य विद्युतीय प्रणालीमा विवरण समयमै अद्यावधिक गर्ने।
७. आर्थिक अनुशासन: विभागमा कार्यरत कर्मचारीले देहायका आर्थिक अनुशासनको पालना गर्नु पर्नेछ :-
- सरकारी स्रोत, सवारी, उपकरण तथा सम्पत्तिको मितव्ययी, जिम्मेवार र कार्यालय प्रयोजनमा मात्र प्रयोग गर्ने,
- कार्यालयको स्रोतसाधनबाट व्यक्तिगत लाभ नलिने,
- सरकारी सवारी साधन वा अन्य यन्त्र तथा उपकरण विवेकपूर्ण र मितव्ययी रूपमा उपयोग गर्नुपर्नेछ।
७. सूचनाको गोपनियता एवम् सम्प्रेषण सम्बन्धी आचरण : यस विभागमा कार्यरत कर्मचारीले सूचना सम्प्रेषण सम्बन्धमा देहाय बमोजिमको आचरण पालना गर्नुपर्नेछ :-
- कानूनले गोप्य राख्नुपर्ने भनी किटान गरेका सूचना प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रकाशन वा कोही कसैको लागि प्रयोग गर्नु गराउनु हुँदैन,
- आधिकारिक सूचना अख्तियारप्राप्त अधिकारी/प्रवक्ता/सूचना अधिकारीमार्फत मात्र प्रवाह गर्ने,
- विभागमा रहेका कर्मचारीले व्यक्तिगत विवरण पिआइएस (PIS) सम्बन्धित कर्मचारीलाई मात्र उपलब्ध गराउनु पर्नेछ।
८. निजामती कर्मचारीको आचारसंहिताको पालना : कर्मचारीले उल्लेखित आचार संहिताको अतिरिक्त कर्मचारीले पालना गर्नुपर्ने गरी कानून बमोजिम भएका अन्य आचारसंहिताको पालना गर्नुपर्नेछ ।
९.सीमित गरेको नमानिने : यस आचारसंहितामा उल्लेखित कुनै व्यवस्थाले कर्मचारीले प्रचलित कानून बमोजिम गर्नुपर्ने वा गर्न नहुने कुनै कामलाई सीमित गरेको वा त्यसमा छुट दिएको मानिने छैन ।
१०.आचारसंहिताको प्रभावकारी कार्यान्वयन : (1) यो आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रत्येक कर्मचारी जिम्मेवार रहनेछ ।
(२) समय समयमा यसको कार्यान्वयन अवस्थाको अनुगमन, मूल्याङ्कन वा समीक्षा बैठक गरिनेछ ।
(3) विवाद उत्पन्न भएमा महानिर्देशकले गरेको निर्णय अन्तिम हुनेछ ।
(४) यस आचारसंहितामा उल्लेखित प्रावधान प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म प्रचलित कानूनमा लेखिएको कुरा नै मान्य हुनेछ ।
११. संशोधन गर्न सकिने : विभागले आवश्यकता अनुसार यो आचारसंहितामा संशोधन गर्न सक्नेछ।
१२. खारेजी : राष्ट्रिय किताबखाना (निजामती) मा कार्यरत कर्मचारीको आचारसंहिता, २०८३ खारेज गरिएको छ।